
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा अवैध रूपमा भित्र्याइएका करिब २ लाख ३० हजार रुपैयाँभन्दा बढी मूल्यका मोबाइल तथा मोबाइल एसेसोरीज बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मिति २०८१/०८/२८ गते दिउँसो करिब ३:३० बजे इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका–२ स्थित कृष्णनगर क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी निकासी गरी ल्याइएका मोबाइल तथा एसेसोरीज बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो।
बरामद गरिएका सामग्रीमा विभिन्न ब्रान्डका मोबाइल फोन तथा एसेसोरीज रहेका छन्। विवरणअनुसार Realme C71 (6/128) का २ थान, Realme C71 (4/64) का २ थान मोबाइल, मोबाइल डिस्प्ले ७० पिस, मोबाइल ब्याट्री २० पिस, मोबाइल ग्लास ७५ पिस, मोबाइल सफा गर्ने कपडा तथा पाउच १६ पिस र मोबाइल सफा गर्ने ब्रस ५ पिस बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सम्पूर्ण सामग्रीको अनुमानित मूल्य २ लाख ३२ हजार ५ सय ६० रुपैयाँ रहेको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।
प्रहरीले सीमावर्ती क्षेत्र हुँदै हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी कडा बनाइएको र यस्ता गतिविधिविरुद्ध कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

