
पोखरा — गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भन्दै समाजमा भ्रम फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट चेतावनी दिएका छन्। सोमबार पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले निर्वाचनविरुद्धको अफवाह लोकतन्त्र र सुशासनका लागि गम्भीर चुनौती भएको बताए।
गृहमन्त्री अर्यालले नेकपा एमालेतर्फ संकेत गर्दै निर्वाचनबाट भाग्ने, निर्वाचन नहुने भन्दै भ्रम सिर्जना गर्ने तथा सुशासनलाई कमजोर बनाउने काम कुनै पनि कोणबाट जायज नहुने स्पष्ट पारे। “निर्वाचनबाट पन्छिने, निर्वाचन हुँदैन भन्ने भ्रम फैलाउने र सुशासनलाई कमजोर पार्ने काम न त स्वीकार्य छ, न त न्यायोचित नै,” उनले भने।
वर्तमान सरकारको गठन नै निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यका साथ भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन दृढतापूर्वक काम गरिरहेको बताए।

उनले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन गराउन सुरक्षा निकायहरूलाई स्पष्ट निर्देशन दिँदै आवश्यक योजना तयार गरी प्रभावकारी कार्यान्वयनमा लैजान आग्रह गरे। साथै, जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी सुरक्षा सेवा र कार्यसम्पादनमा सुधार ल्याउन पनि सुरक्षा निकायहरूलाई सचेत गराए।
गृहमन्त्रीको यो अभिव्यक्तिलाई आगामी निर्वाचनको सन्दर्भमा सरकारको दृढ प्रतिबद्धता र स्पष्ट सन्देशका रूपमा हेरिएको छ।
