
कपिलवस्तु । पछिल्ला केही दिनदेखि कपिलवस्तु जिल्लामा हुस्सु र कुहिरोको मात्रा बढ्दै गएपछि सवारी दुर्घटनाको जोखिम उच्च बनेको छ । विशेषगरी बिहान र बेलुकीको समयमा दृश्यता अत्यन्त कम हुने भएकाले सवारी चालकहरूलाई थप सतर्कता अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जाडो याम सुरु भएसँगै बाक्लो हुस्सु र कुहिरोका कारण सडक देख्न कठिन भइरहेको छ, जसले गर्दा साना–ठूला दुर्घटनाहरू हुने सम्भावना बढेको छ । यस अवस्थालाई ध्यानमा राख्दै दुर्घटना न्यूनीकरणका लागि सवारी साधनहरू बिस्तारै चलाउन, सुरक्षित दूरी कायम गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।
ट्राफिक प्रहरी निरीक्षक राजन ढकालले जाडोको समयमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “हुस्सु र कुहिरोका कारण दृश्यता कम हुने भएकाले सवारी चालकले गति नियन्त्रणमा राख्नुपर्छ । हेडलाइट, इन्डिकेटर र ब्रेक लाइट ठीक अवस्थामा राख्न आवश्यक छ । साथै, ओभरटेक नगर्नु र हेल्मेट तथा सिट बेल्टको प्रयोग अनिवार्य गर्नुपर्छ।”

उहाँका अनुसार मोटरसाइकल, टेम्पो, अटो तथा ठूला सवारी साधन चालकहरू सबैले एकै किसिमको सजगता अपनाए दुर्घटनाको जोखिम कम गर्न सकिनेछ । ट्राफिक प्रहरीले यस अवधिमा सडक अनुगमनलाई थप कडा बनाइएको र नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि आवश्यक कारबाही गरिने पनि जनाएको छ ।
जिल्लामा चिसो बढ्दै गइरहेको अवस्थामा आम नागरिक र सवारी चालकहरूलाई सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सबैसँग सहयोगको अपेक्षा गरेको जनाएकाे छ ।
