
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा सवारी साधन सहयोगस्वरूप उपलब्ध गराएको छ।
मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा भारतीय दूतावासले ६१ वटा क्याबिन पिक–अप भ्यान नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। निर्वाचन व्यवस्थापनका लागि गृह मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयमार्फत भारतसँग सवारी सहयोग माग गरिएको थियो।
भारत सरकारले पहिलो चरणमा ६१ वटा गाडी प्रदान गरेको जनाएको छ भने यस निर्वाचनका लागि कुल ५३८ वटा सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल सरकारको नाममा प्राप्त यी सवारी साधन निर्वाचन सम्पन्न भएपछि आवश्यकताअनुसार सरकारी प्रयोजनमा प्रयोग गरिनेछ।
भारत सरकारले विगतदेखि नै नेपालको निर्वाचन प्रक्रियामा सवारीसाधनसहित विविध सामग्री सहयोग गर्दै आएको छ। सन् २००८ यता मात्र भारतले नेपाललाई २ हजार ४ सयभन्दा बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ।
