
काठमाडौं । निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका प्रस्ताव कार्यान्वयन नहुँदा आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत पुनले आफूले प्रस्ताव गरेका तीन अध्यादेश र चार नियमावली राष्ट्रपति तथा संसद्को विधान समितिबाट स्वीकार नहुँदा निराश भई चुनावी राजनीतिमा होमिएको बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट निर्वाचन मैदानमा उत्रिएका उनले संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने दाबी गरेका छन्।

उनका अनुसार शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने उद्देश्य भए पनि आवश्यक राजनीतिक सहयोग नपाउँदा योजना अल्झिएको थियो। साथै, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय गठन गर्ने प्रस्तावसमेत मुख्य सचिव तहबाट रोकिएको उनको आरोप छ।
पुनले अब शिक्षा, विज्ञान र प्रविधिलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रचार अघि बढाउने बताएका छन्।
