
काठमाडौं — लुम्बिनी प्रदेश सरकारले माघ ९ गते वसन्त पञ्चमी (सरस्वती पूजा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनाअनुसार वसन्त पञ्चमीका दिन प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, शैक्षिक संस्था तथा प्रदेश मातहतका कार्यालयहरूमा सार्वजनिक बिदा रहनेछ।
ज्ञान, कला र शिक्षाकी देवी सरस्वतीको पूजा–आराधना गरिने वसन्त पञ्चमी हिन्दू समुदायका लागि विशेष महत्वको पर्व हो। यस दिन विद्यालय, कलेज तथा शैक्षिक संस्थामा सरस्वती पूजा गर्ने परम्परा रहँदै आएको छ।

प्रदेश सरकारले धार्मिक, सांस्कृतिक तथा परम्परागत पर्वको सम्मानस्वरूप सार्वजनिक बिदा दिइएको जनाएको छ। साथै, नागरिकहरूलाई पर्व मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरिएको छ।

