
कपिलवस्तुमा २५७०औँ शाक्य पितृ स्मरण दिवस आगामी चैत १ गते मनाइने भएको छ। प्राचीन कालमा राजा विदूढभ (बिरुढक) को आक्रमणबाट शाक्यहरूको सामूहिक वध भएको दिनको सम्झनामा दिवस आयोजना गर्न लागिएको हो।
कार्यक्रम बौद्धकालीन ऐतिहासिक स्थल सगरहवा (लम्बुसाग) मा हुने आयोजकले जनाएको छ। कपिलवस्तुको जगदीशपुर कलौनीमा बसेको बैठकले तयारी तथा सञ्चालनबारे विभिन्न निर्णय गर्दै ९ सदस्यीय मूल आयोजक समिति गठन गरेको जानकारी संयोजक ललित गुरुङले दिएका छन्।
दिवसका अवसरमा शाक्य समुदायका पूर्वजप्रति श्रद्धाञ्जली, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। आयोजकका अनुसार यस कार्यक्रममार्फत शाक्य समुदायको ऐतिहासिक पीडा र बलिदानलाई नयाँ पुस्तासम्म पुर्याउने तथा बौद्धकालीन सभ्यता संरक्षणमा योगदान गर्ने लक्ष्य राखिएको छ।

बौद्ध अनुसन्धानकर्ता पोमनारायण पौडेलले दिवसलाई सांस्कृतिक एकता र ऐतिहासिक चेतनासँग जोडेर मनाउनुपर्ने बताए भने वरिष्ठ पत्रकार नारायण पौडेलले शाक्य वंशको इतिहासलाई शैक्षिक अध्ययन र अनुसन्धानसँग समेट्नुपर्नेमा जोड दिएका छन्।
शाक्यहरूको सामूहिक विनाशसँग जोडिएको स्थलका रूपमा सगरहवा बौद्ध तीर्थयात्रीहरूका लागि विशेष आस्थाको केन्द्र मानिन्छ, जहाँ आगन्तुकहरूले अकालमा मारिएका शाक्यहरूको आत्मशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्ने गर्छन्।
