
काठमाडौं — निर्वाचन आयोगले शैक्षिक क्षेत्रलाई चुनावी प्रचारबाट टाढा रहन कडा चेतावनी दिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले प्राध्यापक, शिक्षक तथा शैक्षिक कर्मचारीलाई कुनै पनि दल वा उम्मेदवारको पक्ष–विपक्षमा सक्रिय नहुन निर्देशन दिएको हो।
आयोगका अनुसार केही शैक्षिक संस्थाका जनशक्ति प्रचारप्रसारमा संलग्न भएको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो। आचारसंहिताविपरीत गतिविधिमा संलग्न पाइए दफा ४८ अनुसार कारबाही हुने स्पष्ट पारिएको छ।
विज्ञप्तिमा पदको तटस्थता र कानुनी दायित्व सम्झेर राजनीतिक प्रचार नगर्न आग्रह गरिएको छ। साथै, विद्यालय वा कलेजका भवन, सवारीसाधन र अन्य स्रोतसाधन राजनीतिक सभा–सम्मेलनमा प्रयोग गर्न दिनु पनि उल्लंघन ठहरिने आयोगले जनाएको छ।

जिल्ला स्तरका अनुगमन समिति र निर्वाचन कार्यालयलाई समेत यस्ता गतिविधि निगरानी गरी आवश्यक कदम चाल्न आयोगले निर्देशन दिएको छ।

