
कपिलवस्तु । आगामी निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गर्ने उद्देश्यले कपिलवस्तुमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिम सुरु गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयको आयोजनामा कपिलवस्तु बहुमुखी क्याम्पस मा सञ्चालन गरिएको तालिमको पहिलो दिन निर्वाचन क्षेत्र नम्बर १ मा खटिने २५० जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी भएका छन्।
तालिममा मतदान केन्द्र व्यवस्थापन, मतपत्र सुरक्षा, मतदान प्रक्रिया, मतदाता पहिचान, बदर मत न्यूनीकरण, आचारसंहिता पालनालगायत विषयमा प्रशिक्षण दिइएको छ। साथै, आकस्मिक अवस्था तथा विवाद व्यवस्थापनका विषयमा समेत सहजीकरण गरिएको आयोजकले जनाएको छ।

प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई व्यवहारिक अभ्यासमार्फत मतदानको सम्पूर्ण प्रक्रिया अवलोकन गराइएको थियो। मतदान केन्द्रमा देखिन सक्ने सम्भावित चुनौतीहरूबारे छलफल गर्दै समाधानका उपायसमेत प्रस्तुत गरिएको थियो।
जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूले तालिमले मतदान प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। अन्य निर्वाचन क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि पनि क्रमशः तालिम सञ्चालन गरिने जनाइएको छ।
