
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थितिले वाम शक्तिहरूबीच पुनः एकताको आवश्यकता झन् बढाएको बताएका छन्।
एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले जेन जेड आन्दोलनपछि देशमा देखिएको अस्थिरता र ध्रुवीकरणले वामपन्थी, देशभक्त, समाजवादी र कम्युनिस्ट शक्तिहरूलाई एउटै मोर्चामा उभिन प्रेरित गरेको दाबी गरे।
उनका अनुसार नयाँ संरचनासहित नेपाली कम्युनिस्ट पार्टी गठन भइसकेपछि राजनीतिक ध्रुवीकरणको वातावरण बनेको छ। “केही समयभित्रै फेरि सबै वामपन्थी कम्युनिस्ट शक्तिहरू एकै ठाउँमा उभिने अवस्था सिर्जना हुन्छ,” उनले भने।

प्रचण्डले केपी शर्मा ओलीको नेतृत्व शैलीप्रति असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै एमालेभित्रै विद्रोहको स्वर चर्किएको बताए। “एमालेभित्रका धेरै साथीहरू एकताको झन्डा बोकेर अघि बढ्न तयार छन्,” उनले दाबी गरे।
आसन्न निर्वाचनतर्फ संकेत गर्दै उनले आफ्नो दलको जनसमर्थन दिनप्रतिदिन बढिरहेको जिकिर गरे। देशव्यापी अवस्था नियालिरहेको उल्लेख गर्दै उनले पार्टी प्रमुख प्रतिस्पर्धी शक्ति बन्ने, सम्भव भए पहिलो शक्ति बन्ने दाबीसमेत गरे।
उनले वाम आन्दोलनलाई पुनः सशक्त बनाउने लक्ष्यसहित संगठन विस्तार र एकतामा जोड दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
