चन्द्रौटामा अस्पतालको ३८ लाख गायब: बैंक र प्रशासनबीच आरोप–प्रत्यारोप

0
Quantam abroad studies

कपिलवस्तुको चन्द्रौटामा रहेकाे आधारभूत अस्पतालमा ठूलो आर्थिक अनियमितताको आशंका उठेको छ। आन्तरिक लेखापरीक्षण (आर्थिक वर्ष २०८१/८२) का क्रममा अस्पतालले बैंकमा जम्मा गरेको भनिएको ३८ लाख रुपैयाँ खातामा नदेखिएपछि अस्पताल र बैंकबीच गम्भीर विवाद सिर्जना भएको हो।

अस्पताल प्रशासनका अनुसार एक वर्षको अवधिमा १२८ वटा भौचरमार्फत चन्द्रौटास्थित नेपाल बैंक लिमिटेडमा रकम जम्मा गरिएको थियो। तर बैंकले तीमध्ये केही भौचर र हस्ताक्षर नै नक्कली भएको दाबी गर्दै आएको छ। बैंक पक्षले ती भौचरमार्फत उल्लेखित रकम आफूहरूको प्रणालीमा दाखिला नभएको स्पष्ट पारेको छ।

बिरामी उपचार, ल्याब सेवा, फार्मेसी र भर्ना शुल्कबाट दैनिक संकलित रकम नगद रूपमा बैंकमा जम्मा गरिँदै आएको थियो। तर अहिले तीमध्ये ३८ लाख रुपैयाँ गायब भएपछि अस्पतालभित्र तनावपूर्ण अवस्था उत्पन्न भएको छ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ५ का अध्यक्ष नेत्र बेल्बासेले घटनाको छानबिनका लागि प्रहरीमा उजुरी दर्ता गरिसकेको जानकारी दिएका छन्। उनका अनुसार अस्पतालसँग भौचरको प्रमाण भए पनि रकम बैंक खातामा नदेखिनु गम्भीर विषय भएकाले निष्पक्ष अनुसन्धान आवश्यक छ।

sahani furniture udyog

यता बैंक शाखा प्रमुख रमेश जुगिजुले भने बैंकमा विधिवत् जम्मा भएका रकमहरू प्रणालीमा सुरक्षित रहेको र नक्कली भौचरबाट रकम दाखिला हुन नसक्ने बताएका छन्। उनले घटनाबारे केन्द्रीय कार्यालयमा जानकारी पठाइसकेको र आन्तरिक छानबिन पनि अघि बढिरहेको उल्लेख गरे।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ। वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार अस्पताल कर्मचारीबाट नक्कली भौचर प्रयोग गरी रकम हिनामिना गरिएको वा बैंक कर्मचारीकै संलग्नता हुन सक्ने दुवै सम्भावनालाई आधार मानेर अनुसन्धान भइरहेको छ।

यसैबीच, बैंकको सिसिटिभी फुटेज केवल ९० दिनसम्म मात्र सुरक्षित रहने भएकाले एक वर्ष पुरानो प्रमाण संकलन गर्न चुनौती देखिएको छ। यसले अनुसन्धान प्रक्रियालाई थप जटिल बनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.