
वैशाख ११ गतेदेखि देशभर ‘विश्व खोप सप्ताह’ सुरु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यका साथ खोप सप्ताह सञ्चालन गरिएको जनाएको छ । यो कार्यक्रम वैशाख १७ गतेसम्म जारी रहनेछ ।

मन्त्रालयका अनुसार यस अवधिमा देशभरका सबै स्वास्थ्य संस्थाबाट जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा रोगविरुद्ध नौ प्रकारका खोपहरू पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइनेछ । खोप सुरक्षित र प्रभावकारी भएकाले अभिभावकलाई ढुक्क भएर बालबालिकालाई खोप लगाउन आग्रह गरिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार खोपको प्रभावकारिताका कारण नेपालमा सन् १९९६ देखि २०२३ सम्म पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजार जीवित जन्ममा ११८ बाट घटेर २६.५ मा झरेको छ । यसले करिब ७८ प्रतिशत कमी आएको देखाउँछ ।
