
कपिलवस्तु — पछिल्ला केही दिनदेखि कपिलवस्तु जिल्लामा अत्यधिक गर्मी र तातो हावाको असर तीव्र बन्दै गएको छ । बढ्दो तापक्रमका कारण जनजीवन कष्टकर बन्दै गएको छ भने बजार, चोक र सार्वजनिक स्थलहरू सुनसान देखिन थालेका छन् ।
दिउँसोको समयमा तातो हावा (लु) चल्न थालेपछि अत्यावश्यक कामबाहेक मानिसहरू घरबाहिर निस्कन छाडेका छन् । सडकमा सवारी साधनको चाप समेत घटेको छ । बिहान र बेलुका मात्रै केही चहलपहल देखिए पनि दिउँसोको समयमा बजार क्षेत्र प्रायः खालीजस्तै देखिन्छ ।
स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीका कारण डिहाइड्रेसन, टाउको दुख्ने, ज्वरो आउने, चक्कर लाग्ने जस्ता समस्या बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूलाई बढी जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले पनि सर्वसाधारणलाई दिउँसो ११ बजेदेखि ४ बजेसम्म सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, हल्का तथा चिसो खानेकुरा सेवन गर्न र घाममा निस्कँदा छाता वा टोपी प्रयोग गर्न आग्रह गरेको छ ।
यस्तै, किसानहरू पनि अत्यधिक गर्मीका कारण चिन्तित देखिएका छन् । खेतबारीमा काम गर्न समस्या भइरहेको र बालीमा समेत असर पर्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी केही दिन अझै तापक्रम उच्च रहने सम्भावना रहेको छ । यसले गर्दा गर्मीको असर अझै बढ्न सक्ने भएकाले सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
