
सार्वजनिक सवारी साधनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन सरकारले नयाँ निर्देशिका मस्यौदा सार्वजनिक गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार अब सबै सार्वजनिक सवारीमा अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्नेछ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले ल्याएको “सवारी साधनलाई प्रविधिजडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्रीमैत्री बनाउने सम्बन्धी निर्देशिका, २०८२ (मस्यौदा)” मा जीपीएस प्रयोगलाई केन्द्रमा राखिएको छ। जडान गरिएको उपकरणको सुरक्षा, सञ्चालन र मर्मतको जिम्मेवारी सवारी धनी, चालक र परिचालक सबैमा रहनेछ।

जीपीएस प्रणालीमार्फत सवारीको वास्तविक समयको निगरानी गरिनेछ भने विभागले नियन्त्रण केन्द्र स्थापना गरी डेटा संकलन र व्यवस्थापन गर्नेछ। साथै, सवारी धनीले आवश्यक विवरण नियमित रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
निर्देशिकामा जीपीएस उपकरणमा जियो-फेन्सिङ, अत्यधिक गति चेतावनी, इग्निशन अन/अफ अलर्ट र रुट हिस्ट्री ट्र्याकिङ जस्ता सुविधा अनिवार्य रहने उल्लेख छ।
