
सरकारले सोमबार ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गर्दै मुलुकको समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको चित्र प्रस्तुत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँ सरकार गठनपछि यो दस्तावेज तयार पार्ने निर्णय गरेका थिए।
स्थितिपत्रले हालको अर्थतन्त्र सुस्त वृद्धि, घट्दो निजी लगानी, बेरोजगारी र आयात निर्भरता जस्ता चुनौतीले प्रभावित भएको स्वीकार गरेको छ। साथै, कमजोर कार्यान्वयन क्षमता र सीमित वित्तीय स्रोत पनि मुख्य समस्या रहेको उल्लेख गरिएको छ।
यद्यपि, दस्तावेजले जलविद्युत्, पर्यटन, कृषि आधुनिकीकरण र सूचना प्रविधि क्षेत्रलाई ठूलो अवसरका रूपमा औँल्याएको छ। सस्तो ऊर्जा उत्पादन, विद्युत् निर्यात, ग्रामीण पर्यटन विकास र डिजिटल उद्यमशीलतामार्फत रोजगारी तथा आय वृद्धि सम्भव रहेको निष्कर्ष छ।

त्यस्तै, सार्वजनिक–निजी साझेदारीमार्फत पूर्वाधार विकास, रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा परिचालन, तथा औद्योगिक र निर्यातमुखी अर्थतन्त्र निर्माणमा जोड दिइएको छ।
सरकारले आगामी वर्षहरूमा करिब ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने, पाँच–सात वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्ने र अर्थतन्त्रलाई १०० अर्ब डलर नजिक पुर्याउने लक्ष्य लिएको छ।
