
१८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माणले गति लिएको छ। सोमबारदेखि अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा विस्फोटक पदार्थ प्रयोग गरी मुख्य सुरुङ खन्ने काम सुरु गरिएको हो।
करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको ‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनामा ५.६ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ। प्रवर्द्धक कम्पनीले आगामी चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ।
मुस्ताङको घाँसामा बाँध र म्याग्दीको घरापमा विद्युत्गृह निर्माण हुने आयोजना अन्तर्गत सुरुङ, बाँध तथा विद्युत्गृहको निर्माण कार्य विभिन्न स्थानबाट एकसाथ अघि बढाइने भएको छ। आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न २२० केभी क्षमताको प्रसारण लाइन पनि निर्माण गरिनेछ।

ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहेको आयोजनामा प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई १० प्रतिशत सेयर छुट्याइएको छ।
धार्मिक विधिअनुसार पूजाआजा गरी शुभारम्भ गरिएको यो आयोजना म्याग्दी जिल्लाकै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। आयोजना सम्पन्न भएपछि राष्ट्रिय ऊर्जा उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
