
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरेसँगै सार्वजनिक गरिएको हो।
यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए। बोर्डका अनुसार तीमध्ये २ लाख ६५ हजार १९० जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्, जुन कुल सहभागीको ६४.१३ प्रतिशत हो।
नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ३० जनाको परीक्षा रद्द गरिएको छ। बाँकीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। नियमिततर्फ उत्तीर्ण दर ६९.७५ प्रतिशत रहेको बोर्डले जनाएको छ।
यस्तै, आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकामध्ये १० जनाको परीक्षा रद्द गरिएको छ। आंशिकतर्फ ३६ हजार ४२० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्, जुन ४२.३८ प्रतिशत हो।
गत वैशाख १४ गतेदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। परीक्षामा देशभरका ५ हजार ३३९ विद्यालयका विद्यार्थी सहभागी भएका थिए। परीक्षा सञ्चालनका लागि नेपालभर १ हजार ४२० तथा जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको थियो।

बोर्डका अनुसार नतिजा बोर्डको वेबसाइट result.neb.gov.np र neb.gov.np मार्फत हेर्न सकिनेछ। साथै नेपाल टेलिकमको अनलाइन सेवा, एसएमएस, आईभीआर तथा यूएसएसडीमार्फत पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
नतिजा प्रकाशित भएसँगै बोर्डले पुनर्योग (रिटोटलिङ), ग्रेडवृद्धि परीक्षा तथा विवरण सच्याउने प्रक्रियाबारे पनि जानकारी दिएको छ। प्राप्त ग्रेडप्रति चित्त नबुझेका विद्यार्थीले नतिजा प्रकाशित भएको सात दिनभित्र प्रतिविषय एक हजार रुपैयाँ शुल्क तिरेर पुनर्योगका लागि आवेदन दिन सक्नेछन्।
त्यसैगरी, नाम, थर, जन्ममिति, रजिस्ट्रेसन नम्बर वा विषयगत विवरणमा त्रुटि भेटिएमा आवश्यक कागजातसहित सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत सच्याउन निवेदन दिन सकिने बोर्डले जनाएको छ।
