
शहबाज खान, कपिलवस्तु
इलाका प्रहरी कार्यालय कृष्णनगर, कपिलवस्तुको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहकार्यमा “लागुऔषधको चुनौती चिनौंः सामाजिक समाधानको बाटो खोजौं” भन्ने मूल नारासहित लागुऔषध दुर्व्यसनविरुद्धको सप्ताहव्यापी जनचेतनामूलक अभियानको शुभारम्भ गरिएको छ।
कृष्णनगर नगरपालिकाको सभाहलमा आयोजित उद्घाटन कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, विद्यार्थी, सञ्चारकर्मी, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


वक्ताहरूले लागुऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौतीका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै यसको रोकथाम तथा न्यूनीकरणका लागि परिवार, समुदाय, शैक्षिक संस्था, स्थानीय तह र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
आयोजकका अनुसार सप्ताहव्यापी अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, सचेतना र्याली, विद्यालयस्तरीय गतिविधि तथा लागुऔषधविरुद्ध सचेतना फैलाउने विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।
