
कपिलवस्तु । बालबालिकाको हक अधिकार सुनिश्चित गर्न परिवार, विद्यालय, स्थानीय तह र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा कपिलवस्तुमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । नेपालको वर्तमान संविधानमा बालबालिकाको हक र अधिकार विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी वक्ताहरूले बालबालिकाको अधिकार संविधानमा मात्रै सीमित नभई व्यवहारमै कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।
कपिलवस्तु नगरपालिकाको आयोजनामा असोज ३ गते तौलिहवास्थित नगरपालिकाको सभाहलमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले संविधानले सुनिश्चित गरेका बालबालिकाका मौलिक हक, शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता तथा बालमैत्री वातावरण निर्माणका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बालबालिकाको अधिकार संरक्षणका लागि संविधानमा भएका व्यवस्थाबारे बालबालिकालाई नै जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । बालबालिकाको अधिकार सुनिश्चित गर्न परिवार, विद्यालय, स्थानीय तह तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । अधिकारसँगै कर्तव्य र सामाजिक जिम्मेवारीबारे बालबालिकामा सचेतना बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बालबालिकाका लागि सुरक्षित र मर्यादित वातावरण निर्माण गर्न राज्यका सबै तहसँगै अभिभावक र समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र विभेद अन्त्य गर्न सबै पक्ष सचेत हुनुपर्ने उहाँले जोड दिनुभयो ।

प्रहरी उपरीक्षक मनोहर भट्टले बालबालिकाको सुरक्षा र संरक्षणका लागि प्रहरीसँगै अभिभावक, विद्यालय र समुदायको सहकार्य आवश्यक रहेको बताउनुभयो । बालबालिकालाई हिंसा, दुर्व्यवहार तथा विभिन्न जोखिमबाट जोगाउन समयमै सचेतना र संरक्षणका उपाय अपनाउनुपर्ने उहाँको भनाइ थियो ।
प्रतियोगितामा कपिलवस्तु नगरपालिकाभित्रका विभिन्न बाल क्लब तथा बाल सञ्जालका प्रतिनिधिहरू सहभागी भएका थिए । प्रतियोगितामा तौलेश्वरनाथ बाल समूह सञ्जालका सोयुग कशौधन प्रथम हुनुभयो ।
त्यस्तै धरमपनिया बाल सञ्जाल समूहकी शिवानी उपाध्याय द्वितीय, सिद्धार्थ वडा बाल सञ्जाल समूहका प्रमिश आचार्य तृतीय तथा अरौराकोट बाल सञ्जाल समूहका रामहर्ष कुर्मीले सान्त्वना स्थान हासिल गर्नुभयो । विजेता विद्यार्थीलाई झोला, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको निर्णायक मण्डलमा अधिवक्ता भोला प्रसाद विश्वकर्मा र शिक्षिका इन्दिरा देवकोटा रहनुभएको थियो । विद्यार्थीहरूले विषयवस्तुको ज्ञान, प्रस्तुति, भाषाशैली तथा विषयप्रतिको बुझाइका आधारमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यक्रम नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत पदमराज श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, प्रशासकीय अधिकृत विनोद कुँवर, पत्रकार भुपाल थापालगायतको उपस्थिति थियो । कार्यक्रमको संयोजन शिवा गुप्ता र रामशब्द यादवले गर्नुभएको थियो । सहभागी विद्यार्थीहरूको प्रस्तुतिले बालबालिकाको हक अधिकार संविधानमा उल्लेख गरेर मात्रै नहुने र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ ।
