
कपिलवस्तु , असोज ८
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमले आफ्नो पदबाट राजीनामा दिएका छन्। निजामती सेवामा आफ्नो नियमित कार्यकाल सकिन केही महिनामात्र बाँकी रहँदा उनले आगामी असोज १४ गतेदेखि लागू हुने गरी गृह मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्। सहसचिव स्तरका कर्मचारी गौतमले बुझाएको राजीनामा पत्रलाई स्वीकृतिका लागि गृह मन्त्रालयले मन्त्रिपतिषदमा पठाउने छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि मात्र उनको राजीनामा औपचारिक रूपमा स्वीकृत हुनेछ।
कार्यकालको अन्त्यतिर आएर गौतमले स्वेच्छिक अवकाश रोज्नुको मुख्य कारण प्रस्तावित नयाँ निजामती कर्मचारीसम्बन्धी विधेयक हुन सक्ने जानकारको भनाइ छ। नयाँ कानुन निर्माण. हुँदा पेन्सन लगायतका विगतका सेवा-सुविधामा कटौती हुन सक्ने वा अन्य प्रतिकूल असर पर्न सक्ने भन्दै यतिबेला कर्मचारी वृत्तमा चिन्ता बढेको छ।

यही विधेयकको अन्योल र त्रासका कारण यस वर्ष गौतम जस्तै सेवा निवृत्त हुन लागेका धेरै पुराना कर्मचारीहरूले अवधि पुग्नु अगावै राजीनामा दिएर स्वेच्छिक अवकाश रोज्ने क्रम बढने देखिन्छ ।
