
काठमाडौं , असोज १३
नेपाली कांग्रेसको १५ औं महाधिवेशन उदघाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ।
भारी वर्षाका कारण केही क्षेत्रमा अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया जारी रहेकाले कांग्रेसले नयाँ मिति र स्थानबारे जानकारी दिएको हो।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको उदघाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा आयोजना हुने जानकारी दिएका हुन् ।
महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका तथा नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् । अहिले प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू सम्पन्न भइरहेका छन् ।
यसैबीच देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको जानकारी निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको कांग्रेसले जनाएको छ ।
