
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिने सरकारी तयारीको कडा आलोचना गरेका छन्।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उनले सरकारको यस कदमलाई ‘स्याल बहुलाएको’ संज्ञा दिएका छन्। उनले देशको हालको आर्थिक अवस्था, युवा बेरोजगारी, र विदेश पलायनको अवस्थालाई दृष्टिगत गर्दै पूर्वविशिष्टहरूलाई सेवा सुविधा दिने योजनालाई अनुचित भने।
केसीले आक्रोश व्यक्त गर्दै भने, “लाखौँ युवा रोजगारीका लागि विदेशमा भौतारिरहेका बेला सरकारले पूर्वविशिष्टहरूलाई सुविधा दिने योजना किन ल्याएको हो? के उहाँहरू दुःखमा हुनुहुन्छ? सेवा सुविधा अपुग भएको हो?”

उनले सरकारलाई चेतावनी दिँदै भने कि जनता सरकार र व्यवस्थाप्रति असन्तुष्ट भइरहेका बेला यस्तो निर्णयले अझ असन्तोष बढाउनेछ। “सरकारले जनताको आक्रोश बुझ्नुपर्छ, यस्तो निर्णय तत्काल रोक्नुपर्छ,” उनले जोड दिए।
