
नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन गर्न पुगेका युवामाथि प्रहरीले धरपकड गरेको छ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा युवाहरू आन्दोलित बनेका छन्। विरोध प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीहरूमाथि लाठी प्रहार गर्नुका साथै बल प्रयोग गरी केहीलाई नियन्त्रणमा लिएको छ।
सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ। तर, घिसिङको नेतृत्वमा लोडसेडिङ अन्त्य भएको र ऊर्जा क्षेत्रमा सुधार आएको भन्दै उनको बर्खास्तीप्रति असन्तोष जनाइएको छ।

सदनदेखि सडकसम्म विरोध चर्किएको छ। प्रतिपक्षी दलहरूले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् भने राजधानीका विभिन्न स्थानमा प्रदर्शनहरू जारी छन्।
आज दिउँसो सरकारविरुद्ध नाराबाजी गर्दै विद्युत् प्राधिकरणको कार्यालय अगाडि पुगेका प्रदर्शनकारीहरूमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
