
घोराही – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको अर्थ–राजनीति गम्भीर संकटमा रहेको बताएका छन्।
आज घोराहीमा आयोजित एक कार्यक्रममा उनले हाल देखिएका समस्याहरू समाधान गर्न शासकीय स्वरूपमा परिवर्तन आवश्यक रहेको औंल्याए। उनका अनुसार, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अवलम्बन गर्न सके मात्रै राजनीतिक अस्थिरता अन्त्य हुन सक्छ।
डा. भट्टराईले संविधानले राजनीतिक अधिकार स्थापित गरे पनि वर्तमान शासकीय स्वरूपले अपेक्षित सुधार गर्न नसकेको बताए। ‘यदि सरकार स्थिर र कार्यकारी शक्तिशाली भएमा मात्र आर्थिक विकास सम्भव छ,’ उनले भने।

उनका अनुसार, २०७२ को संविधानले राजनीतिक व्यवस्था त निश्चित गर्यो, तर आर्थिक समृद्धि र विकासलाई गती दिन सकेन। ‘जनतामा निराशा बढ्नुको प्रमुख कारण आर्थिक एजेन्डा प्रभावकारी रूपमा अघि बढ्न नसक्नु हो,’ उनले थपे।
डा. भट्टराईले ढिलो वा छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू गर्न आवश्यक रहेको धारणा राखे। ‘रोगको समयमा उपचार भएन भने अवस्था झन् गम्भीर बन्छ,’ उनले भने, ‘अब ढिलो नगरी सुधारको मार्ग अपनाउनु जरुरी छ।’
