
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डमा आयोजित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको एक कार्यक्रममा सम्बोधन गर्दै मानव जाति विनाशको खतरा बढिरहेकोप्रति चिन्ता व्यक्त गरेका छन्। जलवायु परिवर्तन, बिग्रँदो पारिस्थितिकी प्रणाली, मानव अस्तित्वमाथि खडा भइरहेका प्रश्नहरू, र कमजोर राष्ट्रहरूको अस्तित्व संकटजस्ता मुद्दाहरू गम्भीर रूपमा उठ्दै गरेको उनले उल्लेख गरे।
प्रधानमन्त्री ओलीले वर्तमान समयमा मानिसहरू आफैंबाट त्रसित हुनुपर्ने अवस्था आएको बताउँदै, जलवायु संकट, गरिबी, र असमानता जस्ता समस्याहरू कुनै पनि भौगोलिक सीमामा सीमित नरहने धारणा व्यक्त गरे। उनले आफू नेपालका प्रधानमन्त्री मात्र नभई पृथ्वीको एक जिम्मेवार नागरिकको रूपमा बोलेको पनि स्पष्ट पारे।

उनले आफ्नो सम्बोधनको क्रममा नेपालले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ यात्राको लक्ष्य ‘समृद्ध विश्व, सुखी मानवजाति’ रहेको बताए। साथै, विदेश भ्रमणका क्रममा कूटनीतिक भेटघाटसँगै अन्तर्राष्ट्रिय सरोकारका विषयमा पनि छलफल गर्ने आफूले जारी राख्ने प्रतिबद्धता जनाए।
