
गर्मी सिजन सुरु भएसँगै लुम्बिनी प्रदेशमा आगलागीका घटना तीव्र रूपमा बढ्न थालेका छन्। प्रदेशका विभिन्न जिल्लामा हालसम्म १२१ वटा आगलागीका घटना भएको विवरण लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको छ। यी घटनाले सयौं घरटहरा, पसल, अन्न भण्डार जलेर नष्ट भएका छन् भने, वातावरणमा पनि गम्भीर असर देखिन थालेको छ।
सबैभन्दा धेरै आगलागीका घटना रूपन्देहीमा २० र नवलपरासीमा १९ वटा भएका छन्। प्रहरीको तथ्यांक अनुसार, नवलपरासीमा मात्र सात जना घाइते भएका छन् भने समग्र लुम्बिनी प्रदेशमा १२ जना सर्वसाधारण घाइते भएका छन्। अन्य प्रभावित जिल्लाहरूमा कपिलवस्तुमा १२, दाङमा ७, बाँकेमा ८, बर्दियामा ११, पाल्पामा ६, गुल्मीमा १२, अर्घाखाँचीमा १०, प्युठानमा ४ र रोल्पा तथा रुकुम पूर्वमा ६/६ वटा आगलागीका घटना रेकर्ड भएका छन्।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आगलागीबाट लुम्बिनी प्रदेशमा करोडौं रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। नवलपरासीमा सबैभन्दा धेरै ३० लाखभन्दा बढीको क्षति भएको छ भने रूपन्देही, बाँके, बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा पनि लाखौंको क्षति पुगेको छ। यसपालिको आगलागीमा मानवीय ज्यानको क्षति नभए पनि सम्पत्तिको नोक्सानी अत्यन्त ठूलो रहेको छ।
अधिकांश आगलागी घटनाको मूल कारण मानव लापरवाही रहेको देखिन्छ। शहरी क्षेत्रमा विद्युत् सर्ट सर्किट, रातभर बलिरहेको धूप वा दियो पल्टिनु, ग्यास लिक भएर विस्फोट हुनुजस्ता कारणले आगलागी भएका छन् भने ग्रामीण भेगमा चुलो बालेर आगो खुला छाड्ने, गाईवस्तुलाई कुँडो पकाउँदा नियन्त्रण नहुने, वा खरझारमा सुतिरहेको आगोको झिल्का फैलिने जस्ता लापरवाहीका कारण आगलागी भएको देखिन्छ।
गर्मी सिजनसँगै जङ्गलमा लागेको डढेलोले पनि थप संकट निम्त्याएको छ। डढेलोका कारण वातावरणमा धुवाँधुलोको मात्रा बढेको छ, जसले वायुप्रदूषण गम्भीर बनाएको छ। स्वासप्रश्वाससम्बन्धी रोग, एलर्जी, दम, र फोक्सोका समस्याहरू बढिरहेका छन्। स्वास्थ्यकर्मीहरूका अनुसार, डढेलोबाट निस्किएको कालो धुवाँले विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूमा असर पुर्याइरहेको छ।

डढेलोको असर यति दूर पुगेको छ कि हिमाली क्षेत्रहरू समेत प्रभावित भएका छन्। सिस्ने, पुथालगायतका हिमालमा अत्यधिक हिउँ पग्लेर काला ढुंगा देखिन थालेका छन्। वातावरणविद्हरू भन्छन् कि डढेलोबाट निस्किएको कालो कार्बन हिमालमा बसेपछि हिउँ पग्लिने दर तीव्र हुन्छ, जसले जलवायु परिवर्तनको गति अझ बढाउँछ।
आगलागी र डढेलोका कारण वन्यजन्तुहरूको जीवन पनि संकटमा परेको छ। जङ्गलका जनावर र चराचुरुङ्गीको बासस्थान समाप्त हुँदै गएको छ भने कतिपय जनावर आगलागीको चपेटामा परेर मरेका छन्। बाँचेका जनावरहरू भागेर सुरक्षित बासस्थान खोज्न बाध्य भएका छन्, जसले पारिस्थितिक सन्तुलनमा असर पारेको छ।
यस्ता घटनाहरूले आगलागीलाई केवल प्राकृतिक दुर्घटना होइन, मानवीय लापरवाही र व्यवस्थापकीय कमजोरीसँग जोडिएको विषय बनाएको छ। आगलागीको जोखिमलाई न्यूनीकरण गर्न सरकारले पूर्वतयारी, सचेतना, र समन्वयमा आधारित कार्ययोजना ल्याउनु आवश्यक छ। विपद् व्यवस्थापनका लागि स्थानीय तह, प्रहरी, सुरक्षा निकाय, स्वास्थ्य संस्था र नागरिक समाजबीच समन्वय बढाउन जरुरी देखिन्छ। साथै, जनस्तरमा आगोको जोखिमबारे चेतना फैलाउने, सुरक्षित प्रयोग विधिहरूको प्रचार गर्ने र विपद्का बेलामा तत्काल राहत पुगोस् भन्ने उद्देश्यले तालिम र उपकरणहरू उपलब्ध गराउनु आवश्यक छ।
लुम्बिनी अहिले गर्मीयामसँगै आगलागी र डढेलोको दोहोरो संकटसँग जुधिरहेको छ। यो संकटले जनधनको मात्रै होइन, वातावरणीय संरचनाको पनि विनाश गरिरहेको छ। यसको सामना गर्न दीर्घकालीन रणनीति आवश्यक छ — नत्र सिजनको आगोले हरेक वर्ष यस्तै क्षति पुर्याउँदै जानेछ।
