
लुम्बिनी प्रदेशका प्रमुख व्यवसायिक संगठनहरूले तम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन सुनिश्चित गर्न सरकारसँग तत्काल पहल गर्न आह्वान गरेका छन्। सोमबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र घरेलु तथा साना उद्योग महासंघले विमानस्थल सञ्चालनमा भइरहेका अवरोधप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “लुम्बिनी प्रदेशको समृद्धिका लागि आधारभूत पूर्वाधारका रूपमा विकास गरिएको यो विमानस्थल सञ्चालनमा अनिश्चितता देखिनु दुर्भाग्यपूर्ण हो। के अदृश्य शक्तिहरूले यो परियोजनालाई निष्क्रिय बनाउने षड्यन्त्र गरिरहेका छन्?”
व्यवसायिक संघसंस्थाहरूले सरकारलाई स्पष्ट प्रश्न गरेका छन्— “यदि कुनै अवरोधहरू छन् भने, तिनलाई हटाउन निजी क्षेत्रले के सहयोग गर्न सक्छ? हामी सबै तयारीमा छौं, तर सरकारले पनि आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ।”

विमानस्थल सञ्चालनमा भइरहेको ढिलाइले लुम्बिनीको पर्यटन, व्यापार र समग्र आर्थिक गतिविधिमा असर पारिरहेको व्यवसायीहरूको भनाइ छ। उनीहरूले निजी क्षेत्रबाट उडान नियमित गर्न आवश्यक सबै प्रकारका सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाएका छन्।
लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको तम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनीको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा पु-याउने आशा बोकेको थियो। तर, अपेक्षाकृत रूपमा उडानहरू नियमित नभएसँगै प्रदेशभित्र व्यापक निराशा छाएको व्यवसायीहरू बताउँछन्।
अब यो विषयमा सरकारको दृष्टिकोण र आगामी रणनीति के हुने हो भन्ने कुराले नै विमानस्थलको भविष्य निर्धारण गर्नेछ।
