
नवलपरासी, वैशाख १४ — नारायणगढ–बुटवल सडकअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा सडक विस्तार कार्यलाई तीव्रता दिन रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ। आजदेखि आगामी वैशाख ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा पूर्ण रोक लगाइने भएको हो।
यसअघि पनि रातिको समयमा आंशिक रुपमा सवारी रोक्दै निर्माण कार्य सञ्चालन हुँदै आएको थियो। अब भने थप १६ दिनसम्म लगातार आवागमन बन्द गरेर काम अगाडि बढाइने नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार दाउन्ने क्षेत्रमा अझै भित्तातर्फ कटिङ कार्य बाँकी रहेकाले वर्षाअघि नै काम सम्पन्न गर्न रातको समयमा सडक बन्द गरिएको हो।
दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने तथा कल्भर्ट निर्माण जस्ता कार्य भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताउनुभयो। यात्रु तथा चालकहरू भने लामो समयदेखि आवागमन अवरोधका कारण सास्ती खेप्दै आएका छन्।

नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत ११४ किलोमिटर दूरीको गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर खण्डमा सर्भिस लेनसहितको सडक विस्तार भइरहेको छ। यसमध्ये जोखिमपूर्ण दाउन्ने क्षेत्रका १४ किलोमिटरमा तीन लेनको सडक निर्माण कार्य जारी छ।
१७ अर्ब रुपैयाँ लागतमा चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले सडक निर्माणको ठेक्का लिएको हो। निर्धारित समयमै निर्माण कार्य पूरा गर्न नसकेपछि हालसम्म तीनपटक म्याद थपिएको छ। हाल म्याद २०८२ साउन ८ गतेसम्म लम्बाइएको छ।
