
कपिलवस्तु, बैशाख २७ — कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको केन्द्रमा अवस्थित शैक्षिक संस्था, कपिलवस्तु बहुमुखी क्याम्पसको संचालन समिति अध्यक्ष पदको लागि शुद्धोधन गाउँपालिका वडा नं. १ स्थित Sunlight English Boarding Schoolका सञ्चालक सच्चिदानन्द त्रिपाठीले उम्मेदवारी घोषणा गरेका छन्।
हिजो सम्पन्न क्याम्पसको बन्द सत्रमा त्रिपाठीले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्दै क्याम्पसको सर्वाङ्गिण विकासका लागि आफू प्रतिबद्ध रहेको बताए। करिब दुई दशक लामो शैक्षिक अनुभव बोकेका त्रिपाठी एक प्राज्ञिक तथा निष्पक्ष छविका व्यक्ति हुन्। उनले शैक्षिक संस्थाहरुमा राजनीति नगर्नु पर्ने र गैरराजनीतिक, स्वच्छ छवि भएका व्यक्तित्वहरु संचालन समितिमा आउनु आवश्यक रहेको धारणा व्यक्त गरे।
त्रिपाठीले सभामा सहभागी सबैलाई आफ्नो विद्यालयको अवलोकन गर्न आमन्त्रण गर्दै कसरी शैक्षिक संस्था कुशलतापूर्वक व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका थिए। अध्यक्षमा निर्वाचित भएमा क्याम्पसमा प्राविधिक धारको शिक्षा संचालन गरेर विद्यार्थीलाई बाहिर जानु नपर्ने व्यवस्था मिलाउने घोषणा समेत गरेका छन्।

उनले क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी तथा पदाधिकारीलाई नियमित तलब उपलब्ध गराउने दिगो व्यवस्था मिलाउने प्रतिबद्धता जनाए। साथै, आर्थिक रुपमा कमजोर, दलित, आदिवासी तथा जनजाति समुदायका विद्यार्थीलाई न्यून शुल्कमा अध्ययनको अवसर दिने योजना पनि सार्वजनिक गरे।
बाह्य जिल्लाबाट विद्यार्थी आकर्षित गर्ने गरी शिक्षाको गुणस्तर सुधार्नेसहित आवश्यक पूर्वाधार विकासमा आफू निरन्तर लाग्ने त्रिपाठीको भनाइ छ।
त्रिपाठीको उम्मेदवारीले क्याम्पसमा नयाँ उत्साह र सम्भावनाको संकेत गरेको छ। अबको नेतृत्वले शैक्षिक गुणस्तरमा कस्तो परिवर्तन ल्याउने हो भन्नेमा सबैको चासो बढ्दै गएको देखिन्छ।
