
बुटवल, जेठ २० –
नेपालको विकासको मेरुदण्ड मानिएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको विस्तार कार्यले ९ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। गत माघ ११ गते शिलान्यास गरिएको यो महत्वाकांक्षी आयोजनामा अहिले निर्माणको गति तिव्र पारिएको छ।
सडक विस्तारसँगै विकासको आशा बोकेका स्थानीय बासिन्दा अहिले निर्माणको प्रत्येक गतिविधिमा चासो राखिरहेका छन्। कोही दैनिक गाडी चढेर काममा हिँड्नेहरू छन्, कोही सडक छेउमा पसल थापेर जीवन धानिरहेका, तिनका लागि यो सडक नयाँ सम्भावनाको ढोका बनेको छ।
स्थानीयलाई आशा: ‘धुलो हट्ने, गाडी छिटो पुग्ने आशा छ’
सैनमैनाका व्यवसायी सन्तोष भण्डारी भन्छन्, “हाम्रो पसल सडक छेउमै हो, पहिलेका दिनहरूमा धुलो, हिलो र ट्राफिकले दुःख दिईरहेको थियो। अब विस्तार भएपछि यातायात सहज हुने आशा छ।”
परियोजनाका सूचना अधिकारी राजेन्द्र आचार्यका अनुसार बुटवल–गोरुसिङ्गे सडकलाई दुई भागमा बाँडेर काम भइरहेको छ — सैनमैना नगरपालिका (रुपन्देही)देखि कोठी नदी (कपिलवस्तु)सम्म बुटवल साइटले हेर्ने र बाँकी खण्ड कपिलवस्तु साइटले व्यवस्थापन गर्ने गरी।
१३ अर्बभन्दा बढीको लागत, चिनियाँ र नेपाली कम्पनीको सहकार्य
यो सडक विस्तारको जिम्मा चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र नेपाली कम्पनी चितवन निर्माण सेवाले लिएका छन्। करिब १३ अर्ब ५५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको यस परियोजनाले हालसम्म १ अर्ब ३ करोड रुपैयाँ बराबरको भुक्तानी पाइसकेको छ।
रुख कटान सकिएको, विद्युत् पोल सार्ने काम सुरू

सडक निर्माणका लागि आवश्यक रुख कटान सकिएको छ। कपिलवस्तुमा ३,३३४ र रुपन्देहीमा ३,७७७ रुख काटिएका छन्। अहिले विद्युत् पोल सार्ने काम र माटो फिलिङ्ग, पुल तथा कल्भर्ट निर्माण कार्य चलिरहेको छ।
पुल र कल्भर्टमा उल्लेख्य प्रगति
रुपन्देही खण्डमा निर्माण हुने २० वटा पुलमध्ये १२ वटा पुलका पाइल फाउन्डेसन अन्तिम चरणमा छन्। १७ वटा कल्भर्टको निर्माण भइरहेको छ भने १९ ठाउँमा आरसीसी र रिटेनिङ वालको काम पनि सक्रिय रूपमा अगाडि बढेको छ।
कपिलवस्तु साइटका इन्जिनियर जीगेस प्रसाद चौधरीका अनुसार ८ वटा पुलका पाइल फाउन्डेसनको काम अन्तिम चरणमा पुगेको छ। वाणगंगामा निर्माण हुने ३०० मिटर लामो पुलमा ११ वटा फाउन्डेसन आवश्यक पर्छन्, जसमध्ये ५ वटा बनिसकेको छ।
स्थानीय सरकारको साथ, आम जनताको अपेक्षा
यो आयोजना केवल सडकको निर्माण मात्र होइन, सँगसँगै सामाजिक–आर्थिक विकासको द्वार पनि हो। ग्रामीण क्षेत्रका किसानदेखि विद्यार्थी, व्यवसायी, कर्मचारीसम्मलाई यसको फाइदा पुग्ने अपेक्षा गरिएको छ।
“काम केही ढिलो भए पनि गुणस्तरीय होस् भन्ने चाहना छ,” कपिलवस्तुका शिक्षक मणिराम चौधरी भन्छन्, “हाम्रो पुस्तालाई मात्र होइन, भोलिका पुस्तालाई काम लाग्ने पूर्वाधार बनेर रहोस्।”
