
नवलपुर, असार ७ – पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणघाट–बुटवल सडकखण्डको दुम्कीबास र दाउन्ने क्षेत्रमा निर्माणकार्यसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै आजदेखि रातको समयमा सवारी सञ्चालन पूर्णरूपमा बन्द गरिने भएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले आजदेखि लागु हुने गरी यो निर्णय गरेको हो।
सडक विभाग अन्तर्गत आयोजना निर्देशनालय (ADB) का निर्देशक इञ्जिनियर चुडाराज ढकालले जानकारी दिएका अनुसार दुम्कीबासस्थित विनयी खोला पुल क्षेत्रको डाइभर्सन सडक बर्खामा बारम्बार बग्ने भएकाले जोखिम बढेको छ। नयाँ पुल सञ्चालनमा नआउन्जेलसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो। साथै दाउन्ने खण्डमा ग्राभेल राखेर भइरहेको मर्मतले गर्दा सवारी चलाउन थप कठिन भइरहेको छ।
निर्देशक ढकालले ठूला तथा मालवाहक सवारीसाधनहरूलाई २४ सै घण्टा सडक प्रयोग गर्न निषेध गरिएको जानकारी दिए। ती सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। साना सवारीसाधनलाई भने दिउँसोको समयमा मात्र सावधानीपूर्वक यात्रा गर्न अनुमति दिइएको छ।

चार लेनमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा सामान्य वर्षात्को कारण पनि सडक हिलो हुने र सवारी साधन सञ्चालनमा असहजता हुने समस्या देखिएको छ। विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले पटकपटक बगाउँदा यातायात अवरुद्ध हुने समस्या दोहोरिरहेकाले सुरक्षाका लागि यस्तो निर्णय गरिएको हो।
प्राधिकरणले यात्रुहरूलाई अत्यावश्यकबाहेक राती यात्रा नगर्न र यात्रा गर्नुपरेमा सडकको अवस्था हेरी सर्तसहितको यात्रा गर्न अनुरोध गरेको छ। वैकल्पिक मार्गको प्रयोग र सावधानी नै हालका लागि सबैभन्दा उपयुक्त विकल्प भएको बताइएको छ।
