
काठमाडौँ, १३ साउन — नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज भारतको राजधानी नयाँ दिल्लीमा सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गर्नुभएको थियो भने, भारतीय पक्षको नेतृत्व भारतको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गर्नुभएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा सन् २०१९ को अगस्टमा देहरादूनमा सम्पन्न छैटौँ बैठकमा गरिएका निर्णयहरूको कार्यान्वयन प्रगतिबारे समीक्षा गरिएको थियो। साथै, सोही वर्ष सेप्टेम्बरमा आयोजित ११औँ नापी विभागका अधिकारी सम्मिलित समितिको बैठकको प्रगति समेत समिक्षा गरिएको छ।

बैठकमा दुवै पक्षले सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निरीक्षण, मर्मत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउने विषयमा सहमति जनाएका छन्। त्यस्ता प्राविधिक कार्यहरूलाई सहज बनाउन सर्वेक्षण र नक्साङ्कनका लागि नयाँ प्रविधि अपनाइने सहमति भएको मन्त्रालयले जनाएको छ।
बैठक सहमतिपत्रमा हस्ताक्षरसहित समापन भएको छ। साथै, अधिकारी सम्मिलित समितिको अर्को बैठक आगामी महिना नेपालमा आयोजना गरिनेछ भने सीमा कार्यदलको अर्को बैठक पनि दुवै देशलाई उपयुक्त हुने मितिमा नेपालमै आयोजना गरिने सहमति भएको छ।
नेपाल–भारत सीमा कार्यदल सन् २०१४ मा गठन गरिएको संयुक्त निकाय हो। यसको मुख्य जिम्मेवारी सीमा स्तम्भहरूको निर्माण, मर्मत, पुनःस्थापना तथा अन्य प्राविधिक कार्यहरू सम्पन्न गर्नु हो।
