
काठमाडौं । देशभर मंगलबार सामान्यतया आकाश बादलले ढाकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले नेपालमा मनसुन केही कमजोर भए पनि वर्षाको प्रभाव भने देखिएको छ ।
यसैको कारण मंगलवार बिहानदेखि कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र मधेश प्रदेशका केही ठाउँमा हल्का वर्षा परेको छ ।
दिउँसोतर्फ देशभर बादलले घेर्ने संभावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही भागमा मध्यम वर्षा हुने अनुमान छ । साथै, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनी महाशाखाले दिएको छ ।
रातिको पूर्वानुमानअनुसार पनि कोशी प्रदेशसहित देशका अन्य पहाडी भूभागमा सामान्य बदली रहनेछ । तराईका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ भने कोशी प्रदेशको तराईमा भारी वर्षा पर्न सक्ने सम्भावना रहेको छ ।

भारी वर्षाको जोखिम रहने स्थानहरूमा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।
कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रलाई विशेष ध्यान दिन महाशाखाले अनुरोध गरेको छ
