
काठमाडौं ।
सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा हुने चोरी–निकासी, पैठारी र अवैध आवतजावत नियन्त्रणमा थप कडाइ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिएको छ।
महानिरीक्षक राजु अर्यालले सोमबार भर्चुअल बैठकमार्फत सीमा क्षेत्रमा खटिएका बाहिनी, गण, गुल्म र बिओपी कमाण्डरलाई सीमा सुरक्षासम्बन्धी कार्य जिम्मेवारी प्रभावकारी बनाउन आह्वान गर्नुभएको हो।
उहाँले अवैध तस्करी नियन्त्रणका लागि मुख्यालयले निरन्तर निगरानी गरिरहेको उल्लेख गर्दै कमजोरी देखिएमा वा शंका उत्पन्न भएमा सम्बन्धित कमाण्डर छानबिन र कारबाहीको दायरामा पर्ने चेतावनी दिनुभयो।
“मुलुक, जनता र संगठनको हितमा विवेकपूर्ण निर्णय लिन हिचकिचाउनु पर्दैन, असल कामका लागि मुख्यालयको आदेश कुर्नुपर्दैन,” महानिरीक्षक अर्यालले भने।

सीमा सुरक्षामा खटिने क्रममा अपनाउनुपर्ने आचरणबारे समय–समयमा काउन्सिलिङ गरिने जानकारी दिँदै उहाँले आचरणविपरीत काम गर्नेप्रति कठोर कदम चालिने चेतावनी दिनुभयो। साथै, शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा विशेष निगरानी गर्न र सीमा क्षेत्रलाई व्यवस्थित राख्न सधैं चनाखो रहन निर्देशन दिनुभयो।
कार्यक्रममा सीमा सुरक्षा विभाग प्रमुख अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सबै कमाण्डरलाई स्थानीय सरोकारवाला निकायसँग घनिष्ठ समन्वय र सहकार्यमा काम गर्न आग्रह गर्नुभयो।
बैठकमा सीमावर्ती बाहिनी मुख्यालय प्रमुखहरूले हालसम्म भएका गतिविधि प्रस्तुत गरेका थिए भने गण, गुल्म तथा बिओपी कमाण्डरहरूले वर्तमान चुनौती र भावी योजनाबारे जानकारी गराएको सशस्त्र प्रहरी बलले जनाएको छ।
