
काठमाडौं – मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग सहकार्य गर्न कर्मचारी प्रशासन पूर्ण रूपमा तयार रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारस्थित जलेका भौतिक संरचनाको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेकाे स्पष्ट पारे।
“राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत शुरू भइसकेको छ। सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको छ र अहिलेको अवस्था सामान्यतर्फ फर्किँदै गएको छ,” अर्यालले भने।
उनका अनुसार खानेपानी, विद्युत्, टेलिफोनलगायत जनतालाई प्रत्यक्ष प्रभाव पर्ने सेवा प्रवाहमा अवरोध नहोस् भनेर सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

सिंहदरबारमा आगलागीका कारण प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको स्वीकार गर्दै उनले पूर्वाधार र सवारीसाधनको क्षति मूल्याङ्कन गर्न प्राविधिक टोली खटाइने जानकारी दिए।
अर्यालले भर्चुअल माध्यमबाट अन्य जिल्लाका कार्यालयहरूसँग संवाद भइरहेको उल्लेख गर्दै भने, “क्षतिको आकलन पूरा भएपछि कम क्षति भएको ठाउँबाट सेवा प्रवाहलाई अझ व्यवस्थित गर्ने तयारी भइरहेको छ।”
मुख्यसचिवले सम्भवतः सिंहदरबारमै नयाँ सरकार गठन हुने अनुमान गर्दै त्यसअनुसार व्यवस्थापनमा लागिएको बताए।
