
काठमाडौं – माओवादी पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का उपाध्यक्ष बिराज थापाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको पुस्ताले अब ढिलाइ नगरी सक्रिय राजनीतिबाट अलग हुनुपर्ने स्पष्ट चेतावनी दिएका छन्।
थापाले विगतको योगदानको सम्मान गर्दै आजको सन्दर्भमा नेतृत्व परित्याग गर्नु नै बुद्धिमानी हुने बताए। “प्रचण्ड अब आउटडेटेड भइसकेका छन्, नयाँ पुस्ताले उहाँलाई स्वीकार्न सक्दैन,” भन्दै उनले नेतृत्वले स्वेच्छाले मार्ग प्रशस्त नगरे पार्टी र कार्यकर्ताले नै हटाउनुपर्ने चेतावनी दिए।
उनका अनुसार प्रचण्ड परिवारको विलासी जीवनशैली नै आजको असन्तुष्टि र विद्रोहको मूल कारण हो। यसैले दलका पुराना सबै नेताले पद छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

त्यस्तै, अखिल (क्रान्तिकारी)का अर्का युवा नेता सुमित थापाकाजीले पनि प्रचण्डलाई जतिसक्दो चाँडो नेपाली राजनीतिबाट बिदा गर्नु पार्टी र देशको हितमा हुने दाबी गरे। उनले भ्रस्टाचारको छानबिन प्रचण्डबाटै सुरु हुनुपर्ने माग गर्दै, प्रचण्ड परिवारको विलासीपनले देशलाई ठूलो क्षति पु¥याएको आरोप लगाए।
अहिले माओवादीभित्र नेतृत्वविरुद्धको असन्तोष खुलेर बाहिरिएको छ। कार्यकर्तामाझ विद्रोहको स्वर चर्कँदै गएपछि, नेतृत्वले सन्यास लिनुपर्ने धारणा संगठन भित्र बलियो बन्दै गएको देखिन्छ।
