
काठमाडौँ । भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारले गरेको निर्णयको विरोधमा नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले आन्दोलनको तयारी गरेको छ। महासंघले भोलि (मंगलबार) काठमाडौंको तीनकुनेमा विरोध प्रदर्शन र कोणसभा आयोजना गर्ने जनाएको छ।
महासंघका अनुसार आयोग खारेज गर्ने सरकारको निर्णयले देशभरका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका अधिकारमाथि ठेस पुगेको छ। महासंघका पदाधिकारीहरूले भूमि आयोग खारेज गर्नु किसान र श्रमिक वर्गमाथिको सीधा अन्याय भएको टिप्पणी गरेका छन्।
अखिल नेपाल किसान महासंघसँगै भूमि अधिकार तथा श्रमिक संगठनहरू पनि उक्त विरोध कार्यक्रममा सहभागी हुने तयारीमा छन्। उनीहरूले भूमि अधिकार सुनिश्चित गर्न आयोगको निरन्तरता आवश्यक रहेको बताउँदै निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग तथा सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो। यो निर्णयले आयोगमार्फत दर्ता भएका उजुरी र अध्ययनमा रहेका मुद्दा अनिश्चित बनेका छन्।

२०८१ सालमा तत्कालीन सरकारले भूमि समस्या समाधान आयोग गठन आदेश जारी गरी आयोग र जिल्ला समिति गठन गरेको थियो। आयोगको मुख्य उद्देश्य भूमिहीन र सुकुम्बासीको भूमि समस्या समाधान गर्दै जग्गा वितरण प्रक्रिया अगाडि बढाउनु रहेको थियो।
सरकार भूमि समस्या समाधान आयोग पाटीकाे भर्ती केन्द्र भएकाे तथा सरकार लाइ थप भार भएकाे भन्दै खारेज गरेकाे हाे ।
