
तनहुँ — पवित्र तीर्थस्थल देवघाटधाममा पाँचौँ गण्डकी परिक्रमा महोत्सव भव्य रूपमा सुरु भएको छ। नेपाल सन्त समाजको आह्वानमा देवघाट क्षेत्र विकास समिति र देवघाट गाउँपालिकाको आयोजनामा आज बिहान वेणीस्थित संगमघाटमा पूजा–आराधनासहित महोत्सवको शुभारम्भ गरिएको हो।
महोत्सवको उद्घाटन हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती महाराज र महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरी महाराजले संयुक्त रूपमा गर्नुभएको हो।
विहान ७ बजे सुरु भएको २७.५ किलोमिटर लामो परिक्रमा तनहुँ, चितवन र नवलपुर हुँदै पुनः देवघाटमै समापन हुने कार्यक्रम छ। करिब तीन हजार सन्त, महन्थ र भक्तजन सहभागी भएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए।

परिक्रमा मार्गमा तीन जिल्लाका प्रमुख मन्दिर र आश्रमहरू — पशुपतिनाथ, हरिहर, चक्रवर्ती, मौलाकालिका, गोपेश्वर, राधाकृष्णलगायतका दर्जनौँ धार्मिक स्थल समेटिएका छन्।
महोत्सवको पूर्वसन्ध्यामा देवघाट र भरतपुरमा मोटरसाइकल र्यालीसमेत निकालिएको थियो। देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाका अनुसार यस पर्वले देवघाटधामको धार्मिक पर्यटन प्रवर्धनमा नयाँ ऊर्जा दिने विश्वास गरिएको छ।
