
कपिलवस्तु, कात्तिक २४ — कपिलवस्तु प्रहरीले भारततर्फ चेलीबेटी बेचबिखन गर्न खोज्ने एक युवकलाई कृष्णनगर नाकाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१३ का २३ वर्षीय अर्जुन रोका रहेका छन्।
प्रहरीका अनुसार रोकाले “नेपालमै रोजगारी लगाइदिन्छु” भन्ने प्रलोभनमा पारेर एक नाबालिकालाई भारततर्फ लैजान खोजेका थिए। सीमा नाका हुँदै नाबालिकालाई भारततर्फ लैजान लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार प्रारम्भिक अनुसन्धानबाट रोकाले चेलीबेटी बेचबिखन गरेर आर्थिक लाभ लिने उद्देश्य राखेको देखिएको छ। “उनले नाबालिकालाई झुक्याएर सीमा पार गर्न खोजेका थिए,” सिंहले बताए, “घटनाबारे थप अनुसन्धान भइरहेको छ।”

पक्राउ परेका रोकालाई जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनाले पुनः एकपटक सीमा क्षेत्रमा सक्रिय मानव बेचबिखन समूहप्रति सतर्कता अपनाउनुपर्ने आवश्यकता उजागर गरेको स्थानीय निकायका प्रतिनिधिहरूको भनाइ छ। प्रहरीले सीमावर्ती क्षेत्रमा युवती र बालबालिकाको आवतजावतमा निगरानी कडा बनाउने तयारी गरेको जनाएको छ।
