
भारत र नेपालले रेलमार्गमार्फत मालसामान ढुवानीलाई थप सहज बनाउन सहमति गरेका छन्। भारतको वाणिज्य मन्त्रालयका अनुसार जोगबनी (भारत)–विराटनगर (नेपाल) रेलमार्ग हुँदै अब कन्टेनरयुक्त र थोक मालसामान सिधै ढुवानी गर्न सकिनेछ।
यो निर्णय भारतका वाणिज्य मन्त्री पीयूष गोयल र नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाबीच नयाँ दिल्लीमा भएको बैठकमा गरिएको हो। बैठकमा भारत–नेपाल यातायात सन्धिको प्रोटोकल संशोधनसम्बन्धी पत्र आदानप्रदान पनि भएको छ।
यस व्यवस्थाले कोलकाता–जोगबनी, कोलकाता–नौतनवा (सुनौली) र विशाखापट्टनम–नौतनवा मार्गमार्फत व्यापारिक पहुँच विस्तार गर्ने र नेपालको तेस्रो देशहरूसँगको व्यापारलाई पनि सहज बनाउने अपेक्षा गरिएको छ।

अब कोलकाता र विशाखापट्टनम बन्दरगाहहरूबाट रेलमार्फत मालसामान सिधै मोरङस्थित विराटनगर कस्टम्स यार्डसम्म ल्याउन सकिनेछ। यो रेलमार्ग भारत सरकारको सहयोगमा बनेको हो र २०२३ जुन १ मा दुवै देशका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
बैठकमा सीमापार पूर्वाधार र व्यापार सुलभता सुधारमा प्रगति भएको उल्लेख गर्दै दुवै देशबीचको आर्थिक तथा वाणिज्यिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा व्यक्त गरिएको छ।
