
काठमाडौं — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको बेला मतदाता नामावलीमा दर्ता हुने भीड तीव्र रूपमा बढेको छ। निर्वाचन आयोगका अनुसार सोमबार राति ९ बजेसम्म देशभरबाट ६ लाख २० हजारभन्दा धेरै नयाँ मतदाता सूचीकृत भइसकेका छन्।
आयोगका प्रवक्ताका अनुसार यसमध्ये ३ लाख ११ हजार ४१४ जना मतदाता आयोगको नियमित सर्भर मार्फत दर्ता भएका हुन् भने ३ लाख ८ हजार ५८५ जना नागरिक राष्ट्रिय परिचयपत्र (NID) को आधारमा सूचीमा थपिएका छन्। आयोगले दुवै प्रणालीबाट एकैसाथ दर्ता खुला गरेपछि दर्ता प्रक्रिया झनै सहज भएको जनाइएको छ।
यसपटक आयोगले जेन–जेड मतदातालाई लक्षित गर्दै अध्यादेशमार्फत दर्ता प्रक्रिया विस्तार गरेको थियो। डिजिटल पहुँच बढ्दै गएपछि युवा पुस्ताको सहभागिता उल्लेखनीय रूपमा बढेको आयोगको दाबी छ।
“पहिलेभन्दा धेरै युवा औपचारिक राजनीतिक प्रक्रियामा जोडिन थालेका छन्,” एक अधिकारीले बताए।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर हाल देशभर मतदाता नामावली सङ्कलन जारी छ। पहिलो चरणमा गत कात्तिक ३० गतेसम्म मात्रै दर्ता खुला गरिएको थियो, तर अपेक्षा भन्दा ठूलो चाप आएपछि समय थप्दै मंसिर ५ गतेसम्म दर्ता खुला राखिएको हो।
स्थानीय कार्यालयमा दर्ता गराउन लाइन बढेको छ भने धेरै जिल्ला प्रशासन कार्यालयले समयसमेत बढाएर सेवा दिइरहेका छन्। आयोगका अनुसार बाँकी दिनहरूमा पनि दर्ता संख्यामा तीव्र वृद्धि हुने अनुमान गरिएको छ।
