
काठमाण्डौ — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरू तयारीमा सक्रिय देखिएका छन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ता प्रक्रिया पूरा गरिसकेको छ भने सरकारले पनि चुनाव सञ्चालनका लागि आवश्यक सहजीकरण अघि बढाएको छ ।
ठूला दलदेखि नयाँ दलसम्मले देशव्यापी रूपमा चुनाव केन्द्रित गतिविधि तीव्र पारेका छन् । नेपाली कांग्रेस उम्मेदवार छनोटमा अगाडि देखिएको छ । कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैतर्फ प्रत्यक्ष तथा समानुपातिक प्रणालीअनुसार उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालेको छ ।
नेकपा (एमाले) ले ११औँ महाधिवेशन सुरू गर्दै चुनावको वातावरण निष्पक्ष हुनुपर्नेमा जोड दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र र दबाबमुक्त चुनाव भए एमाले बहुमत ल्याउन सक्षम रहेको दाबी गर्नुभयो । एमालेले आयोगको समयसीमाभित्र दल दर्तालगायतका प्रक्रिया पूरा गरिसकेको छ ।
यस्तै, विभिन्न कम्युनिष्ट दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ‘सन्देशसभा’ मार्फत चुनावी गतिविधि विस्तार गरेको छ । धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरपछि पुस ५ गते काठमाण्डौमा सन्देशसभा आयोजना गर्ने तयारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले वाचापत्र निर्माण र उम्मेदवार छनोट प्रक्रिया अघि बढाइसकेको छ । समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरी भेला तथा सभामार्फत चुनावी अभियान चलाइरहेको छ ।
यसैबीच, निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारण प्रक्रिया अघि बढाएको छ । दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिम समुदायका लागि कोटा निर्धारण हुने आयोगले जनाएको छ ।
समानुपातिक प्रणालीतर्फ अन्तिम रूपमा एक सय राजनीतिक दल सहभागी हुने भएका छन् । मङ्सिर २१ देखि २३ गतेसम्म आवेदन दिएका दलमध्ये आवश्यक मापदण्ड पूरा गर्ने एक सय दललाई आयोगले दर्ता र निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।
