
काठमाडौँ । भारतले भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स)मार्फत प्रतिस्पर्धी दरमा ६५४ मेगावाट विद्युत् आयात गर्न नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले डे–अहेड र रियल टाइम मार्केटबाट चौबीसै घण्टा (आरटिसी) विद्युत् आयात गर्न स्वीकृति दिएको हो ।
यसअघि दिइएको अनुमति बुधबार सकिन लागेकाले नेपाल विद्युत् प्राधिकरणको अनुरोधमा नवीकरण गरिएको जनाइएको छ । नवीकरणअनुसार ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट विद्युत् आयात गर्न पाइनेछ ।

१७ पुसदेखि १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्मका लागि अनुमति दिइएको छ भने त्यसपछि १ अप्रिलदेखि ३१ अगस्ट २०२६ सम्मको नवीकरण प्रक्रिया पछि गरिने प्राधिकरणले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आरटिसी मोडमा विद्युत् आयातको अनुमति नवीकरण भएपछि हिउँदयामको माग–आपूर्ति व्यवस्थापन थप सहज हुने बताएका छन् ।
