
तेस्रो पटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालले समूह ‘सी’ को दोस्रो खेलमा बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईस्थित वानखेडे स्टेडियममा साँझ ३:१५ बजे सुरु हुने खेल नेपालका लागि निर्णायक मानिएको छ। समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज र स्कटल्यान्ड एक–एक जितसहित दुई–दुई अंकमा छन् भने नेपाल र इटाली अंकविहीन छन्।
पहिलो पटक विश्वकप खेलिरहेको इटाली अनुभवमा कमजोर देखिए पनि नेपाल सतर्क छ। कप्तान रोहित पौडेलले इटालीसँगको खेललाई महत्त्वपूर्ण बताउँदै सुपर–८ यात्राका लागि जित अनिवार्य भएको स्पष्ट पारेका छन्।
नेपाल र इटालीबीच १३ वर्षअघि भएको एकदिवसीय भेटमा नेपालले आठ विकेटले जित निकालेको थियो।

इटालीपछि नेपालले फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ। समूह चरणका सबै खेल वानखेडे स्टेडियममै हुँदैछन्।
नेपालले यसअघि सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलेको थियो भने यो समग्रमा तेस्रो सहभागिता हो।
