गौरमा जन्ती–मुस्लिम समुदायबीच विवाद १२ राउन्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार पछी नियन्त्रणमा

0
Quantam abroad studies

रौतहट — गौर नगरपालिका–६ सबगढामा जन्ती र मुस्लिम समुदायबीच भएको विवादले झडपको रूप लिएको छ। मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर सुरु भएको तनावले दुई चरणमा हिंसात्मक अवस्था सिर्जना गरेको हो।

प्रहरीका अनुसार फागुन ७ गते राति करिब ९ः५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरतर्फ जाँदै गरेको जन्ती मस्जिद अगाडि बाजा बजाएपछि स्थानीयबीच विवाद चर्किएको थियो। सोही क्रममा ढुंगा हानाहान हुँदा ६ जना घाइते भएका थिए।

घटना त्यत्तिमै साम्य नभई आज बिहान करिब ९ः१५ बजे पुनः सोही विषयमा दुवै पक्षका झण्डै ५०० जनाको सहभागितामा दोहोरो झडप भएको प्रहरीले जनाएको छ। अवस्था तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो। भीड नियन्त्रणका लागि सुरक्षाकर्मीले १२ राउन्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार गरेका छन्। हाल स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा रहेको बताइएको छ।

sahani furniture udyog

दोस्रो चरणको झडपमा थप ६ जना घाइते भएका छन्। उनीहरूको उपचार प्रादेशिक अस्पताल गौरमा भइरहेको छ र अवस्था सामान्य रहेको जनाइएको छ।

यसैबीच, ड्युटीमा खटिएका प्रहरी जवान राजेश ठाकुरसहित दुई जना सुरक्षाकर्मी पनि घाइते भएका थिए। सामान्य उपचारपछि उनीहरू डिस्चार्ज भइसकेका छन्।

घटनालाई साम्य पार्न र आपसी समझदारी कायम गर्न आज दिउँसो ३ बजेदेखि जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षका प्रतिनिधिहरूबीच वार्ता सुरु भएको छ। स्थानीय प्रशासनले संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.