
धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। उपचारका क्रममा National Trauma Centerमा एक घाइतेको ज्यान गएपछि मृतक संख्या बढेको हो।
काठमाडौं प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार ३२ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनको पहिचान अझै खुलेको छैन।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार राति करिब १:३० बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बसमा ४५ जना सवार थिए। तीमध्ये २८ जना घाइते भएका छन्। २३ जनालाई काठमाडौं ल्याइएकोमा १० जनाको नेसनल अस्पताल कलंकी र १३ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार जारी छ।
बस आइतबार साँझ ७ बजे पोखराबाट छुटेको थियो। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
