
कपिलवस्तु जिल्लाका दुई स्थानीय तहले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। शिवराज नगरपालिका र बाणगंगा नगरपालिका ले फागुन १५ गते स्थानीय बिदा दिने घोषणा गरेका हुन्।
शिवराज नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै मगर दिवसको अवसरमा फागुन १५ गते शुक्रबार नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवा बाहेक), सामुदायिक तथा संस्थागत विद्यालयहरूमा स्थानीय बिदा रहने जनाएको छ। नगरपालिकाले उक्त दिन मगर समुदायको सांस्कृतिक पहिचान, इतिहास र योगदानको सम्मानस्वरूप बिदा दिइएको उल्लेख गरेको छ।
यस्तै, बाणगंगा नगरपालिकाले पनि मगर दिवसको अवसरमा आफ्नो कार्यक्षेत्रभित्रका कार्यालय तथा विद्यालयहरूमा बिदा दिने निर्णय सार्वजनिक गरेको छ। दुवै पालिकाले मगर समुदायप्रति सम्मान व्यक्त गर्दै दिवसको अवसरमा शुभकामना समेत दिएका छन्।

मगर समुदायले प्रत्येक वर्ष फागुन १५ गते विविध कार्यक्रम आयोजना गरी आफ्नो भाषा, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि मगर दिवस मनाउँदै आएका छन्।
