
नेपालमा बर्डफ्लुको संक्रमण फेरि तीव्र रूपमा फैलिँदै गएको छ। सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २०८३ वैशाख १ गतेसम्म देशका ६ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ।
यो आर्थिक वर्षको पहिलो संक्रमण २०८२ चैत ४ गते कोशी प्रदेशअन्तर्गत मोरङ जिल्लाको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट सुरु भएको थियो। त्यसयता संक्रमण विस्तार हुँदै प्रमुख पोल्ट्री उत्पादन क्षेत्रहरूमा पुगिसकेको छ। हालसम्म ३३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएको छ।
संक्रमण नियन्त्रणका लागि सरकारले कडा कदमहरू चालिरहेको छ। अहिलेसम्म १ लाख ३० हजार ९१२ वटा पंक्षी नष्ट गरिएको छ भने २ लाख ३७ हजार ५६२ वटा अण्डा र ३३ हजार ४४५ केजी दाना सुरक्षित रूपमा व्यवस्थापन गरी नष्ट गरिएको छ।

जिल्लागत विवरण हेर्दा सुनसरीमा सबैभन्दा धेरै १७ वटा फार्म प्रभावित भएका छन्। पंक्षी नष्टको संख्यामा भने मोरङ सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ १० वटा फार्मका ५३ हजार ७२१ पक्षी नष्ट गरिएको छ।
अन्य प्रभावित जिल्लामा चितवन, झापा, बारा र नवलपरासी (पश्चिम) रहेका छन्। चितवनको एक फार्ममा मात्रै १८ हजार ८६३ पक्षी नष्ट गरिएको छ भने झापाका ३ फार्ममा १५ हजार ३९० पक्षी मारिएका छन्। त्यस्तै बारामा २ हजार ८६५ र नवलपरासी (पश्चिम) मा २०८ पक्षी नष्ट गरिएको छ।
संक्रमण थप फैलिन नदिन सरकारका संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर नियन्त्रणका उपायहरू लागू गरिएको छ। प्रभावित क्षेत्रहरू सिल गरेर स्रोतमै रोग नियन्त्रण गर्ने रणनीति अपनाइएको छ भने सुरक्षाकर्मीको सहयोगमा आवश्यक हस्तक्षेप जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
