
काठमाडौँ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नसिप सुनिश्चित गर्न माग गर्दै आइतबार राजधानीमा प्रदर्शन गरेका छन्। ‘राइट टु पेड इन्टर्नसिप’ नारासहित उनीहरूले दरबारमार्ग क्षेत्रमा र्याली निकाल्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनकारीहरू दरबारमार्गबाट सुरु भएर नेपाल विद्युत् प्राधिकरण परिसर आसपास पुगेर पुनः दरबारमार्गमै फर्किएका थिए। र्यालीका क्रममा सहभागीहरूले प्लेकार्ड बोकेका थिए भने इन्जिनियर र डाक्टरको पोसाक लगाएर प्रतीकात्मक रूपमा श्रमको मूल्यांकन हुनुपर्ने सन्देश दिएका थिए।
विद्यार्थीहरूको भनाइमा लामो समयदेखि इन्टर्नसिपका नाममा निःशुल्क श्रम गराइँदै आएको छ, जसले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीलाई झनै मारमा पारिरहेको छ। “काम बराबर पारिश्रमिक” को सिद्धान्त लागू गर्दै न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिप व्यवस्था अनिवार्य गरिनुपर्ने उनीहरूको माग छ।

उनीहरूले सरकारले स्पष्ट नीति ल्याई सबै क्षेत्रमा तलबसहितको इन्टर्नसिप सुनिश्चित गर्नुपर्ने, निजी तथा सरकारी संस्थामा इन्टर्नको श्रम शोषण रोक्न कडा अनुगमन गर्नुपर्ने र इन्टर्नसिप अवधिलाई सिकाइसँगै सम्मानजनक श्रमको रूपमा मान्यता दिनुपर्ने बताएका छन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन्।
