
सडक डिभिजन कार्यालय, दाङले आफ्नो कार्यक्षेत्रभित्रका विभिन्न राजमार्ग तथा सडक खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम दिएको छ।
कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सडक क्षेत्र मिचेर निर्माण गरिएका घर, टहरा, पर्खाल लगायतका संरचना सम्बन्धित व्यक्ति वा संस्थाले स्वयं हटाउन आग्रह गरेको हो। कार्यालयका अनुसार सार्वजनिक सडक ऐन, २०३१ विपरीत निर्माण गरिएका यस्ता संरचनाले सवारी आवागमन प्रभावित हुनुका साथै सडक सुरक्षामा गम्भीर जोखिम बढाएको छ।
सूचनाअनुसार महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, राप्ती राजमार्ग, शहिद मार्ग लगायत दाङ अन्तर्गतका विभिन्न राष्ट्रिय राजमार्ग क्षेत्रमा सडक अतिक्रमण हटाउने अभियान सञ्चालन गरिनेछ।

कार्यालयले तोकिएको समयभित्र अतिक्रमण हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै अन्यथा कानुनअनुसार डोजर प्रयोग गरेर संरचना हटाइने चेतावनी दिएको छ। साथै, बलपूर्वक हटाउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल गरिने जनाएको छ।
अतिक्रमण हटाइने मुख्य सडक खण्डहरूमा धानखोला–शिवखोला, गढवा–राजपुर, मुर्कुटी–घोराही–तुलसीपुर, भालुवाङ–गनाहा, कोइलाबास–लमही–घोराही, अमेलिया–तुलसीपुर लगायतका क्षेत्र समावेश छन्।

